ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना (तस्विरसहित)
१८ कार्तिक २०८२, सोमबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका –८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोल, पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, वडासदस्यहरू सरस्वती राज भण्डारी, शेखर देउला, राजलक्ष्मी भण्डारी, सलोनी ओडारी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरूको सहभागीतामा मूर्ति पुनः स्थापना गरिएको हो ।
छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । आज हामीले मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेका छौँ ।”
काठमाडौँ महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा बाजागाजा र बग्गीसहितको र्यालीले आज मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेको छ ।
छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको उक्त चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको र पछि उक्त मूर्ति धोबीखोलामा भेट्टाइएको थियो ।
उक्त मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको वडाध्यक्ष सङ्गतले बताउनुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको उक्त मन्दिरलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो । ब्रह्मा मन्दिर इँट्टा माटो र काठबाट निर्मित मन्दिर दुईतलाको प्यागोडा शैलीमा निर्माण गरिएको छ ।