Logo

काठमाडाैँ महानगरमा वडाबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन शुरु
दक्ष खबर

dakshya khabar ११ माघ २०७९, बुधबार १३:५६ मा प्रकाशित

काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य शुरु गरेको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुका लागि शुक्रबार अभिमुखीकरण आयोजना गरेर माघ १० गतेदेखि विवरण संकलन कार्य शुरु गरेको हो । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो ।

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचय पत्र बनाउनुको अवधारणा हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ परिचय पत्रका कानुनी आधार हुन् । यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ । जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन् ।

यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटोलगायत विवरण पर्छन् । परिचय पत्रका विषयमा जानकारी दिँदै महानिर्देशक भट्टराई भन्नुहुन्छ, यसप्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानी जस्ता सेवा यससँग आवद्ध हुने भएकोले सेवा वितरण र व्यवस्थापनमा सहज हुन्छ । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक पर्दैन ।

काठमाडाैँ महानगरपालिका

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार