गोरखा दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

दक्ष खबर 13510+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार



गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् । फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ । गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उहाँले बताउनुभयो । गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैँघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो । गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाउनुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार