सहकारी ठगी प्रकरण : संसदीय छानबिन विशेष समितिले आइतबारदेखि काम थाल्ने

दक्ष खबर 12604+ समाचार ( )
१९ जेठ २०८१, शनिबार
काठमाडौँ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ।

सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक बताउनुभयाे ।

'संसदीय समितिका लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको छ,' संयोजक थापाले बताउनुभयाे । उहाँले, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ। हामी आइतबारदेखि नै काम थाल्नेगरी तयारीमा जुटेका छौँ। आवश्यक बन्दोबस्त मिलाइदिन सभामुख समक्ष आग्रह गरेका छौँ।’

सिंहदरबारभित्रै कार्यालय कायम हुने समेत थापाले बताउनुभयाे । सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उहाँको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो।

समितिमा नेपाली कांग्रेस र एमालेबाट दुई/दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसदहरू राखिएको छ।

समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा क्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान रहनुभएकाे छ । 

संसदीय समितिलाई आवश्यक छानविन गरि प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार