काठमाडौँ । नेपालमा पहिलोपटक फागुन ३ गतेदेखि ७ गतेसम्म विश्व सामाजिक मञ्च आयोजना हुने भएकाे छ । विश्व सामाजिक मञ्च २०२४ को नेपाल आयोजक समितिले विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा गर्न लागेको हो ।
काठमाडौँमा हुन लागेको विश्व सामाजिक मञ्चमा ७५० स्वयंसेवक परिचालन हुने भएको छ । स्वयंसेवक परिचालन तथा व्यवस्थापनको जिम्मेवारी युथ एड्भोकेसी नेपालले पाएको छ । युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले कार्यक्रम अवधिभर ७५० स्वयंसेवक परिचालन हुने जानकारी दिए ।
नेपालमा विश्व सामाजिक मञ्चको आयोजना पहिलो पटक हुन लागेको र विश्वभरीबाट ३० देखि ४० हजार मानिसहरूको सहभागीता हुने कार्यक्रममा स्वयंसेवकको भूमिका महत्वपुर्ण हुने अध्यक्ष धामीले बताए। ‘स्वयंसेवाको लागि विभिन्न १९ वटा विषयगत क्षेत्र बनाएर सबै क्षेत्रको लागि संयोजक चयन गरिसकेका छौ’, उनी भन्छन्“ स्वयंसेवक साथीहरूले कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने र विश्वसामू एउटा उद्दाहरणीय सन्देश जान्छ” ।
स्वयंसेवक परिचालन समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको थियो । मञ्चको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको खुलामञ्चमा हुनेछ। यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन्। फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुने छ भने संसदीय मञ्चको पनि आयोजना हुनेछ।
‘अर्को विश्व सम्भव छ’ भन्ने संकल्पका साथ सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक आयोजना गरिएको विश्व सामाजिक मञ्चले नवउदारवादी आर्थिक नीतिको आलोचना गर्दै आएको छ । विश्व सामाजिक मञ्च नवउदारवादका विकल्पको सिर्जना एवं लागु गर्नेतर्फ उन्मुख विचार, अनुभव र रणनीतिको स्वतन्त्र तथा र समानान्तरस्तरमा आदानप्रदान गर्न बनाईएको एक खुला मञ्च हो ।