काठमाडौँ । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे ।
उहाँले, "यो घटनाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।" उहाँका अनुसार समितिको संयोजकमा थापासहित सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहनु भएकाे छ । जाँच आयोगको कार्यअवधि काम शुरू भएको मितिदेखि ३० दिन हुने बताइएकाे छ ।
आज दिउँसो १ः५४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् ।