काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिनुभयो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।