एसईईको नतिजा बिहीबार सार्वजनिक हुने, बिहान ८ बजे बोर्ड बैठक बस्दै
१२ आषाढ २०८१, बुधवार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बिहीबार (भाेली) मात्रै सार्वजनिक गर्ने भएको छ ।
यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले बिहीबार नतिजा सार्बजनिक गर्ने भएको हो । नतिजा प्रकाशनका लागि बिहीबार बिहान ८ बजे बोर्डकाे बैठक बस्दैछ ।
राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष असार २४ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयाे ।
उहाँले यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको बताउनुभयाे ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी रहेका थिए ।