भक्तपुर । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरूवात भएको छ । आजदेखी शुरूवात भएको परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुने छ । यस वर्षको एसईर्ई परीक्षाको अन्तिम तयारी पुरा भईसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले आजदेखि सञ्चालन भएको परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्याइएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।
“उहाँका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।"
आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा रहेको छ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी भएकाे परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रुपन्देहीबाट चार जना रहेका छन् ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।