काठमाडौँ । विगत दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी 'सिनेमा साक्षरता अभियान' सञ्चालन गर्ने भएको छ। चैत १४ देखि २५ सम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पूर्वको बिर्तामोडबाट सुरु हुने सिनेमा साक्षरता अभियान बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन हुने छ।
कलेजका प्राध्यापक रामराजा दाहालले भने, नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद््देश्यले यो अभियान गर्न लागिएको हो। सिनेमाका धेरै गतिविधि काठमाडौंकेन्द्रित भएकोले काठमाडौंबाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान गरेको समेत उनले जोड दिए।
विशेष गरी प्लस टु सकेर ब्याचलर तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको यो अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन्।
कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरु, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिँदै सुरु हुने बताइएको छ। कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरुको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरुले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइने छन्। कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रुपान्तरण गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए। कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ।
नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरिएको र यो सिनेमा साक्षरता अभियानले सिनेमाप्रति हुटहटी जगाउने आयोजकको अपेक्षा छ।