काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपत्बाट प्रभावित सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले क्रियाशील रुपमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य गरिरहेको बताउनुभएको हो । उहाँले मनसुनबाट ७७ जिल्ला नै प्रभावित भएका उल्लेख गर्दै सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताउनुभयो ।
मनसुनजन्य विपद्बाट भएका क्षति र प्रतिकार्यमा मन्त्रालयले गरिरहेको कार्यबारे जानकारी दिँदै सरकारले आफ्नो स्रोत र साधन परिचालन गरी प्रतिकार्यलाई प्रभावकारी बनाइरहेको उहाँले बताउनुभयो ।
“मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, बमोजिम तीनवटै तहका संयन्त्र र गृह मन्त्रालयबाट विपद्का घटनामा तत्काल उद्धार, राहत एवं प्रतिकार्यका कार्यहरु भइरहेका छन्”, गृहमन्त्री लेखकले भन्नुभयो, “विपद् व्यवस्थापनमा सबै सुरक्षा निकाय, विभिन्न मन्त्रालय तथा विभाग बीचको समन्वयमा केन्द्रीय ‘कमाण्ड पोष्ट’ले काम गरिरहेको छ । ”
गृहमन्त्रीले गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य विपद्का घटनामा परी एक सय ३० जनाको मृत्यु भएको, एक सय ४४ जना घाइते र ४८ जना बेपत्ता भएका जानकारी दिनुभयो । यसैगरी,चार हजार घरपरिवार विस्थापित भएका, एक हजार ५९ परिवारलाई सुरक्षित आश्रयस्थलमा सारिएको पाँच सय ९४ पशुुचौपाया मरेका तथा दुई सय ३१ घर र ८४ गोठमा क्षति पुगेको बताउनुभयो ।
सिमलताल पहिरोः बेपत्ता बस खोजिँदै