काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित श्री अरुणोदय माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव (हीरक महोत्सव) तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव थापाको सभापतित्वमा सम्पन्न भएको हो।
उक्त समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त रहेका थिए। विशेष अतिथिको रूपमा संघीय संसद अर्थ समितिका सभापति सन्तोष चालिसे उपस्थित थिए।
कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व बागमती प्रदेश सरकारका मन्त्री रमेश्वर फुयाल, नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहमा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, समाजसेवी तथा जनप्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा विद्यालयको ७५ वर्षे योगदानमाथि प्रकाश पारिएको थियो।