काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।यस्तै नेपालमा बालबालिकाहरुको जनसंख्या घट्दो क्रममा रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना अन्तिम तथ्यांकअनुसार बालबालिकाको संख्या गएको दशकभन्दा कम देखिएको हो। सबैभन्दा धेरै १५ देखि १९ वर्षमा कुल जनसंख्याको धेरै प्रतिशत रहेको बताइएको छ।
यसअघि १० देखि १४ वर्ष उमेरकाहरुले धेरै ओगटेका देखिएको थियो। गएको दशकमा बालबालिकाको संख्या ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत रहेको बताइएको छ । अहिले पनि काम गर्ने उमेरकाहरुको संख्या ६१ देखि ६२ प्रतिशत रहेको पाइएको छ। वृद्धहरुको संख्या २ प्रतिशतले बढेको छ। ६० वर्ष भन्दा माथिकाहरुको संख्या यसअघि ८ प्रतिशत रहेकोमा अहिले १० पुगेको पाइएको छ ।
बालबालिकाको संख्या घट्दो र वृद्धहरुको बढ्दो संख्याले भविष्यमा काम गर्नेको संख्या घट्ने देखिएको बताइएको छ । यसैबीच, प्रधानमन्त्री प्रचण्डले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभएको छ । आज राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँलेसंघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था गर्नुपर्ने आवश्यक्ता भएको बताउनुभयो ।