देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री
३० मंसिर
२०८१, आइतबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ ।
ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिस भएकाले ठूलाठूला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो । यो सरकार केबल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उहाँको भनाइ थियो ।
“गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छभन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी परेका माथि २०औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छभन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो । यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्चाउने प्रयासका उपज हुन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ । यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौँ । बैंकको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौैँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ ।”
प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दुःख भोगेका छौँ त्यस्ता दुःखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भ्रातृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गर्नुभयो ।