साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा
२१ कार्तिक २०८२, बिहीबार
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा बुधबारदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति क्षेत्रका चावहिल, मित्रपार्क जयवागेश्वरी र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत गराएको विश्वास गरिन्छ ।
जात्राको पहिलो दिन बुधबार ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको छ । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत रहेकाे छ ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले बुधबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि यो जात्रा सुरु भएको बताउनुभयाे । बुधबार बेलुकी मन्दिर परिसरमा धुनी जगाइएको छ । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा रहेकाे छ ।
मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् बिहीबार बिहान श्री चन्द्रविनायक र श्री भैरवनाथको खट उठाइने जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिनुभयो । “जात्राको दोस्रो दिन बिहीबार गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा, लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ”, उहाँले भन्नुभयो ।
यसैगरी बिहीबार श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बिहीबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ ।
मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लिएर पिताको दर्शन गराएर त्यहाँदेखि मित्रपार्क जयवागेश्वरी हुदै चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने गरिएको जात्रा समितिले जनाएको छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ ।
मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शनिबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा शनिबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिने जनाइएको छ । तस्विर : हेम डंगाेल