महानगरपालिकाले हामीलाई पनि सम्झियो, तालिममा सहभागी हुन पाएकोमा खुशी छौँ : शिक्षकहरु

दक्ष खबर 15671+ समाचार ( )
४ पौष २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको शिक्षक तालिममध्ये कक्षा ९ र १० का शिक्षकहरुको तालिम आज सकिएको छ । दरबार स्कूलमा हिजो र आज गरी २ दिन चलाइएको तालिममा गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरु सहभागी गराइएको थियो ।

३६० जना शिक्षकलाई तालिम प्रदान गर्ने संयन्त्र र पूर्वाधार तयार पारेर महानगरपालिकाले इच्छुक शिक्षकलाई आवेदन दिएर सहभागी हुन आव्हान गरेको थियो । यसबाट सामुदायिक विद्यालयका १ सय जना र संस्थागत विद्यालयका ८० जना शिक्षक सहभागी हुनुभयो ।

उहाँहरुमध्ये २० जना काठमाडौँ महानगरपालिका स्थायी बसोबास भएका शिक्षक हुनुहुन्थ्यो । विषयगत रुपमा हेर्दा सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै अंग्रेजी र सामाजिक विषयका २२/२२ जना शिक्षक सहभागी हुनुभयो । यस्तै संस्थागत विद्यालयबाट सबैभन्दा धेरै विज्ञान विषयमा २० जना सहभागी हुनुभयो ।

शिक्षकका सिकाइ क्षमता विकास गराएर एसइइको नतिजामा सुधार ल्याउने उद्देश्यसहित थालिएको तालिममा यसपटक माध्यमिक तहमा अध्यापन गराउने थप १८० जना शिक्षकहरुले तालिम पाउने अवसर गुम्यो ।

पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा प्रारम्भिक बाल विकास सहजकर्ताका लागि आयोजित तालिम माघ ३ गतेबाट नै सुरु भएको छ । ९० जना क्षमतामा तालिम सञ्चालन गर्ने तयारी गरिएको थियो । यसमा आवेदकको संख्या धेरै भएपछि १०१ जनालाई तालिममा सहभागी गराइयो । उहाँहरुमध्ये १६ जना संस्थागत विद्यालयबाट हुनुहुन्छ । तालिम ८ गतेसम्म चल्नेछ । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापनमा सहजकर्ताको क्षमता वढाएर बालमैत्री कक्षा सञ्चालन गर्नु तालिमको उद्देश्य हो ।

तालिममा सहभागी सहजकर्तामध्ये अक्सिडेन्टल स्कूलकी शिक्षिका मनिका प्रधानले भन्नुभयो, ‘हामीले गरिरहेको कामलाई महानगरपालिकासँग जोड्न नपाएको दोधारमै रहेका बेला महानगरपालिकाले सम्झेर हामीलाई तालिमको अवसर दियो । यसमा हर्षित छौँ ।’ त्यस्तै काव्या स्कूलकी शिक्षिका सोनिया गौत्तमले, ‘आफूहरुले गरिरहेको काम सही ठाउँमा रहेछ भनेर महसुस गर्ने ठाउँसम्म ल्याएकोमा महानगरपालिकाप्रति आभार प्रकट गर्नुभयो ।’

पद्मोदय माध्यमिक विद्यालय, रामशाहपथमा कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका शिक्षकका लागि तालिम चलिरहेको छ । यस समूहमा २७० जना शिक्षक तालिम दिने लक्ष्य राखिएको थियो । जसमध्ये ११६ जना सहभागी हुनुभएको छ । यसमा सामुदायिक विद्यालयबाट ७२ जना र संस्थागतबाट ४४ जना शिक्षक शिक्षिका हुनुहुन्छ । तालिम माघ ७ गतेसम्म चल्नेछ । एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन यस समूहका शिक्षकलाई दिइने तालिमको मुख्य विषय हो ।

यसरी महानगरपालिकाकाले विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ््यक्रम विषयमा ७२० जना शिक्षकलाई तालिम दिने लक्ष्यसहित आयोजना गरेको तालिममा ३९७ जना शिक्षक सहभागी हुनुभयो ।

यसप्रकारका तालिमलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने महानगरपालिकाको योजना छ । ‘शैक्षिक सुधारका लागि शिक्षकले क्षमता विकास नगरी सुखै छैन । सरकारले दिएको तालिमको अवसरलाई उहाँहरुले उपयोग गर्नुपर्छ ।’ कार्यक्रमको निरन्तरताका विषयमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘विज्ञान, सूचना तथा प्रविधिको बढ्दो विकास तथा सामाजिक परिवेशको परिवर्तनसँगै शिक्षकहरुमा प्रभावकारी शिक्षण विधि र शिक्षण सिकाइ क्षमता वृद्धि गराउने हाम्रो चाहना हो । यसबाट विद्यार्थीहरुको प्रभावकारी सिकाइ हुने अपेक्षा गरिएको छ ।’ 

कक्षा अवलोकनका क्रममा शिक्षा अधिकृत नेत्रनारायण पौडेलले, तालिमका विषय, तालिमसँग सहभागीको अपेक्षा र शैक्षिक क्रियाकलापमा महानगरपालिकाका योजनाका विषयमा अन्तरक्रियात्मक छलफल गर्नुभएको थियो । तालिम सकिएपछि प्रमाण पत्र प्रदान गर्ने विभागको योजना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार