काठमाडौँ । भारत स्वतन्त्र भएको अवसरमा आयोजित सम्मान कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्द अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
महासङ्घको केन्द्रीय अध्यक्षको हैसियतले सूचनाको हकको अभियानलाई आशालाग्दो उपलब्धि हासिल गराउन सफल भएकाले अध्यक्ष बागचन्द लगायत भारतको विभिन्न प्रान्तका चिकित्सक, इन्जिनीयर, सामाजिक अभियानकर्मी र पत्रकारले सन् २०२३ को पुरस्कार शुक्रबार प्राप्त गरेका छन् । दिल्लीको मण्डी हाउस स्थित अडियोटोरियम हलमा आयोजित कार्यक्रममा भारतीय विधायक, राजनीतिक दलका नेताको हातबाट पुरस्कार वितरण गरिएको थियो ।
अध्यक्ष बागचन्दले महासङ्घको संस्थागत विकास गरी सूचनाको हकको अभियानलाई नागरिकतहसम्म लैजान नेतृत्वदायी भूमिका निर्बाह गर्नुभएको छ । उहाँ गत असोजमा सम्पन्न महासङ्घको पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । बागचन्द २०७४ सालदेखि महासङ्घको अनौपचारिक सञ्जालको नेतृत्व गर्दै आउनुभएको थियो । सञ्जालले २०७८ फागुन २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको थियो ।
महासङ्घको हाल काठमाडौँ उपत्यकालगायत आठ प्रदेश समितिलगायत धेरै जिल्लामा जिल्ला कार्य समिति क्रियाशील छन् । समुदायमा सूचनाको हक स्थापित गर्न महासङ्घले अभियान चलाउँदै आएको छ ।