काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यस पटक प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न लागिएको हो ।
त्रिविका कुलपति समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने र विश्वविद्यालयमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यही अनुसार शिक्षामन्त्रीको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि सिफारिस समिति समेत गठन भएको छ ।
धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली रहेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै उपकुलपतिमा दरखास्त दिनका लागि विभिन्न योग्यता समेत सार्वजनिक गरेको छ ।
उपकुलपतिमा दरखास्त दिनका लागि स्नातकोत्तर र विद्यावारिधि तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि तथा प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि समेत पेस गर्नुपर्नेछ । त्यस्तै विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
त्यस्तै ३ हजार शब्दसम्ममा विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), ५ हजार शब्दसम्म ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।