काठमाडौँ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले राप्ती साहित्य परिषद्, रुमुम पश्चिम शाखासँगकाे कहकार्यमा रुकुम पश्चिमका त्रिवेणी र मुसीकाेटमा गरी दुई स्थानमा सिर्जना उत्सव सम्पन्न गरेकाे छ ।
फागुन २० गते काठमाडौँँबाट रुकुमतर्फ लागेकाे टाेलीले उक्त स्थानहरूमा कविता वाचन, स्रष्ट सम्मान, ठाडी भाका र कविता प्रतियाेगिता तथा सांस्कृतिक नृत्यकाे प्रस्तुतिसहित सिर्जना उत्सव सम्पन्न गरेकाे हाे ।
नेपाली कलासाहित्य लडटकम प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार माेमिलाकाे नेतृत्वमा गएकाे उक्त समूहमा स्रष्टाहरू डा. विमल काेइराला, उषा शेरचन, दिनेश अधिकारी, राजेश्वर कार्की, डा. अमर शाह, श्री ओम श्रेष्ठ राेदन, भागवत खना, लक्ष्मण गाम्नागे, जयदेव भट्टराई, मणि लाेहनी, सुन्दर बस्नेत, केशव सिग्देल, तारा राई, महेश पाैड्याल, राेशन परियार, कपिल अञ्जान, आस्था केसी तथा कवि बुढा क्षेत्री सामेल थिए ।
२२ फाल्गुनका दिन त्रिवेणी गाउँपालिकाकाे सिम्रुतुमा आयाेजित पहिलाे कार्यक्रममा सिर्जना वाचनका साथै ठाडी भाकाकाे प्रस्तुति रहेकाे थियाे भने ठाडी भाका प्रतियाेगिताका विजेताहरूलाई पुरस्कार अर्पण गरिएकाे थियाे । प्रतिष्ठानकी अध्यक्ष माेमिला तथा राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीकाे संयुक्त अध्यक्षतामा सम्पन्न उक्त सभामा अतिथिहरू विमल काेइराला, उषा शेरचन, दिनेश अधिकारी, महेश पाैड्याल, केशव सिग्देल, त्रिवेणी गाँउपालिकाका प्रमुख गणेशकुमार केसी तथा जिल्ला समन्वय समितिका अध्यक्ष लुम्बिनी गाैतमले सम्बाेधित गरेका थिए ।
दाेस्राे कार्यक्रम २३ चैत्रमा दिन मुसीकाेटकाे सहिद स्मृति भवनमा सम्पन्न भएकाे थियाे । यस अवसरमा आयाेजित कविता प्रतियाेगितामा जीएम दीपु दीपेन्द्र प्रथम, कविता ओली द्वितीय, हर्कसिंह केसी तेस्राे तथा अर्जुन कुमार ओली र खिमबहादुर खड्काले सान्त्वना पुरस्कार जितेका थिए । साेही अवसरमा कवि राजेश्वर कार्कीद्वारा दिवङ्गत पिता समाजसेेवी याेगेश्वर कार्कीकाे स्मृतिमा स्थापित रु २५०००/- राशिसहितकाे याेगेश्वर वाङ्मय पुरस्कार सल्यानमा कथाकार तथा कवि डा. अमर शाहलाई तथा अमेरिकी मानवशास्त्री ग्रगरी मस्कारिनेकाे स्मृतिमा स्थापित रु २००००/- राशिसहितकाे ग्रेगरी कला-संस्कृति पुरस्कार स्थानीय लेखक, गायक तथा संस्कृतिकर्मी मनलाल ओलीलाई समर्पण गरिएकाे थियाे ।
समालाेचक महेश पाैड्यालले कार्यक्रमकाे अवधारणा तथा पुरस्कृत प्रतिभाहरूका बारेमा बाेलेका थिए । यसै कार्यक्रममा कवि डा. शाहकाे कविताकृति "गाउँ छाेडेकाे मान्छे" काे पनि लाेकार्पण गरिएकाे थियाे ।
कार्यक्रमकी अध्यक्ष तथा परिकल्पनाकार कवि तथा निबन्धकार माेमिलाले कलासंस्कृति र साहित्यमार्फत देशलाई जाेड्ने अभिप्रायले यस कार्यक्रमकाे आयाेजना गरेकाे बताइन् । दुवै कार्यक्रमकाे संयाेजन गरिरहेका रुकुमेली स्रष्टा पूर्ण ओलीले यसरी "मेराे राष्ट्र मेराे ध्येय" भन्ने मूल मन्त्र बाेकेकाे यस्ताे कार्यक्रमकाे संयाेजन गर्न पाएकाेमा आफू ज्यादै खुशी भएकाे बताए ।
कार्यक्रममा कर्नाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, मुसीकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी तथा उपप्रमुख विमलकुमार पुुनले पनि सम्बाेधन गरेका थिए ।
कार्यक्रममा रुकुमका अतिरिक्त जाजरकाेेट, सल्यान, दाङलगायतका जिल्लाहरूका कविहरूकाे पनि उपस्थिति थियाे भने अतिथि कविहरू इलाम, झापा, सुन्सरी, धनकुटा, भाेजपुर, काभ्रे, काठमाडौं, ललितपुर, नुवाकाट, कास्की, बाँके, पाल्पा र गुल्मीका स्थायी वासिन्दा थिए । दुवै कार्यक्रम आयाेजक संस्था नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले बर्सेनी आयाेजना गर्ने कलासाहित्य यात्राकाे अंश भएकाे अध्यक्ष माेमिलाले जानकारी दिएकी छिन् ।