काठमाडौँ। लरेन्स बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँमा आयोजीत एक कार्यक्रमका बिच संस्थाको वार्षिक साधारणसभा तथा नयाँ पदाधिकारी चयन गरेको हो ।साधारणसभामा संस्थाका अध्यक्ष अजय खनालले सञ्चालक समितिको तर्फबाट आव २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८९/ ०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजीतर्फ ४८ लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा ४ दशमलव ३९ प्रतिशतले शेयर पुँजी वृद्धि भएको बताएको छ । संस्थाले बचततर्फ १ करोड ८५ लाख ७० हजार ९ सय ६७ रुपैयाँ ९२ पैसा सङ्कलन गरेको छ जुन अघिल्ला आर्थिक वर्षभन्दा ५६ लाख ७१ हजार ८ सय २६ रुपैयाँ १० पैसा थप हो । त्यसैगरी संस्थाले आव ०७८/७९ को तुलनामा ४३ दशमलव ७९ प्रतिशत बचत वृद्धि गर्न सफल भएको बताएको छ ।
त्यस्तै, साधरणसभाबाट संस्थाले अध्यक्ष तारा प्रसाद सुवेदिको नेतृत्वमा नयाँँ सञ्चालक समिति समेत गठन गरेको छ । जसमा उपाध्यक्षमा पुरुशोत्तम महर्जन, सचीवमा गणेश कुमार मिश्र, कोषाध्यक्ष तेज तिमल्सिना, संचालकमा बिष्णुहरि न्यौपाने, गायत्री दङ्गाल ढकाल, नवराज भण्डारी, दिलमाया न्यौपाने खनाल, राजेशमान सिंहलाई चयन गरेको छ भने, लेखासुपरीक्षण समितीमा संयोजक मुकुन्द ढुंगाना, सदस्यमा उज्वल चरण सि तथा सदस्य मन्जु लामालाई चयन गरेको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दैँ संस्थाका उपाध्यक्ष ताराप्रसाद सुवेदीले सहकारीहरूबारे अनेक भ्रमहरू फैलिइरहेको बताउँदै त्यस्ता भ्रमहरू चिर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै, सो अवसरमा लरेन्स बचत तथा ऋण सहकारीमा आर्थिक वर्ष २०७९/०८० मा बचत गर्नेहरूमध्ये उत्कृष्ट बचतकर्ताको रूपमा महेश्वरी कोइरालालाई सम्मानित गरेको छ । यस्तै बेख बहादुर श्रेष्ठलाई असल ऋणी २०८० बाट सम्मानित गरिएको छ ।
साधरणसभामा बोल्दै, संस्थाका प्रमुख सल्लाहकार केशव प्रसाद दंगालले अन्य सहकारीको बिचमा लरेन्स सहकारीले नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा लागेका अनुशासित व्यक्तिहरूको धेरै लगानी रहेको बताउँदै संस्थाको ब्यालेन्स सिट सानो भए तापनि सुन्दर रहेको बताउनुभयो ।
सहकारीका अध्यक्ष अजय खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ महानगर वडा ७ का अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । त्यस्तै, बागमतीका प्रोस्कूनका महासचिव जिवसराज खड्का, कास्कूनकी कोशाध्यक्ष सिमा पुरी कार्यक्रमका विशिष्ट अतिथिका रूपमा रहन’ भएको थियो ।