संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय
२९ चैत्र २०७९, बुधवार
काठमाडौँ । नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
“किमाथाङ्का नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु”, सांसद खड्काले भन्नुभयो ।
साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।
“वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ ।
यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु ।”, सांसद खड्काले भन्नुभयो ।
---