काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै सभापति थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका हुन्। पार्टीको निर्वाचन परिणामप्रति जिम्मेवारी वहन गर्दै नेतृत्वबाट अलग हुने निर्णय उनले लिएको स्रोतले जनाएको छ।
थापाले राजीनामा पत्रमार्फत निर्वाचन परिणामले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै नयाँ ढंगले पुनर्गठनको आवश्यकता औंल्याएका छन्। उनले पार्टीलाई पुनर्जीवित गर्न नयाँ नेतृत्वले अवसर पाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
उपसभापति शर्मा समक्ष राजीनामा बुझाइएसँगै अब कांग्रेसभित्र नयाँ नेतृत्व चयन र भावी रणनीतिबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ। केन्द्रीय कार्यसमिति बैठकले राजीनामाबारे औपचारिक निर्णय लिने बताइएको छ।