काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्यक महादानले नेवाः बौद्ध धर्म, संस्कृति तथा अमूर्त सम्पदाको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सम्यक महादान आयोजना गर्नुको मुख्य उद्देश्य परम्परागत संस्कृति, ऋतिरिवाज तथा अमूर्त सम्पदालाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु रहेको उहाँको भनाइ छ ।
कार्यवाहक प्रमुख डंगोलले अमूर्त सम्पदाको संरक्षण लिखित अभिलेखमा मात्र सीमित नभई व्यवहारमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सम्यक महादानका क्रममा परम्परागत विधि तथा रीतिरिवाजको अभ्यास गर्दा नयाँ पुस्ताले आफ्नो संस्कृति र सम्पदाबारे ज्ञान लिने अवसर प्राप्त गर्ने समेत उहाँले बताउनु भयो । उहाँले नेपालको मौलिक बौद्ध धर्म र नेवाः बौद्ध परम्पराको पहिचानका रूपमा रहेको सम्यक महादान तथा सम्यक भोजनको परम्परा लोप हुन नदिन सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं महाननगरपालिककाले सम्यक महादान गर्नुको एउटै मात्र उद्देश्य रहेको छ हाम्रा सम्यक महादानहरुको पुस्तान्तरण हुनुपर्दछ । ती अमुर्त सम्पदाहरुकको पुस्तान्तरण तब हुन्छ जब हामी ती अमुर्त सम्पदा, परम्परा र रितिरिवाजलाई निरन्तर रुपमा एउटा पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गर्छौँ । र त्यो लिखित रुपमा मात्र नभई व्यवहारिक रुपमा पनि गर्नुपर्दछ । हामीले गर्नुपर्ने सम्पूर्ण रितिरिवाजहरु गरेर हाम्रा सम्पदाहरुको बारेमा हामीले धेरै सिक्न सक्छौँ ।
त्यसैलाई निरन्तरता दिने प्रयास भएको छ । यसमा तपाईंहरु सबैको साथ र सहयोग हुने अपेक्षा समेत गरेका छौँ । नेपालको बुद्ध धर्मको मौलिकताले भरिएको नेपालको चिनारी नेवाः बुद्ध धर्मको चतुुः परिषद्को महासंघ भेला महाधिवेशन रहेको नेवाः शुद्ध बुद्ध र एकताको प्रतिकको रुपमा रहेको यस्तो महत्वपूर्ण सम्यक महादान, सम्यक भोजन विलुप्त भएर नजाओस् ।’ काठमाडौं महानगरपालिकाले आगामी माघ १ गते स्वयम्भू भुइँखेलमा ऐतिहासिक एवं परम्परागत सम्यक महादान आयोजना गर्नेछ । महानगरपालिकाले २२ वर्षदेखि हुन नसकेको यस महादानलाई पुनर्जीवन दिन साम्यक महादान आयोजना गर्ने भएको हो ।