काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार र संस्कृति प्रबर्द्धन गर्न 'काठमाडौँ फिल्म फेस्टिभल' हुदै

दक्ष खबर 17388+ समाचार ( )
१० कार्तिक २०८३, मङ्गलबार

काठमाडौँ । काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्काे मुलर, जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुनुहुनेछ ।

काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति र परम्परा, मूर्त, अमूर्त तथा अभिलेख सम्पदाको प्रवर्धन गर्ने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले कार्तिक १३ गतेदेखि १५ गतेसम्म फेस्टिभलको आयोजना गरेर उहाँहरुलाई आमन्त्रण गरेको हो । पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिनेछ फेस्टिभलबाट, काठमाडौँभित्र भएका तर, अहिलेसम्म नभनिएका कथाहरुको खोजी हुने, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सौन्दर्य र गरिमा विश्व थप विस्तार हुने अपेक्षा राखिएको छ ।

आमन्त्रित विदेशी कलाकारहरु नेपाली कलाकार तथा चलचित्र क्षेत्र र रचनात्मक उद्योगसँग सम्बन्धित व्यक्तित्वहरुसँगै उद्घाटन सत्र, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद तथा मास्टर क्लासलगायत कार्यक्रममा सहभागी हुनुहुनेछ । शवाना आजमी कार्तिक १४ गते पर्यटन वोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ विषयक अन्तरसंवादमा सहभागी हुनुहुनेछ । यस्तै दीप्ति डीकुन्हा ‘सिर्जनात्मक सहरहरुको प्रवर्धनका लागि फिल्म र महोत्सव (नर्चरिङ् क्रियटिभ सिटिज थ्रु फिल्म एण्ड फेस्टिभल्स)’ विषयक प्यानल डिस्कसनमा सहभागी हुनुहुनेछ । 

चलचित्र निर्देशक नाकामुराले कार्तिक १४ गते राष्ट्रिय सभा गृहमा यागामाता युनेस्को फिल्म सिटी सर्टस्को परिचयात्मक प्रस्तुति गर्नुहुनेछ । 

१५ गते पर्यटन बोर्डमा सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरको मास्टर क्लास सञ्चालन हुनेछ । ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बिच चलचित्र सौन्दर्य शास्त्र (द इन्पोटेन्स अफ फिल्म एस्थेटिक्स फ्रम द ग्लोबल साउथ एण्ड द इन्टरनेशनल फेस्टिभल सर्किट) मास्टर क्लासको विषय रहेको छ । यसै दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य (नेपाल्स फिल्म इन्डष्ट्री पास्ट, प्रिजेन्ट एण्ड फ्युचर)’ विषयमा प्यानल हुनेछ । 

१३ गते वसन्तपुरमा हुने सम्पदा यात्रा र समद्घाटन सत्रमा, १५ गते आयोजना हुने अवार्ड सेरेमोनीमा, त्यसै दिन राष्ट्रिय सभा गृहमा आयोजना हुने रेड कार्पेट र पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ प्रदर्शनमा, १५ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने मास्टर क्लास र प्यानलमा सहभागी भएर उहाँहरुले अन्तरक्रियात्मक संवाद गर्नुहुनेछ । 

ती सत्रहरुमा नेपाली चलचित्र उद्योगमा आवद्ध कलाकार, चलचित्र निर्माता, वितरक, प्रवर्धक, प्रदर्शनकर्तासहित चलचित्र विधामा अध्ययनरत विद्यार्थीहरु सहभागी हुनुहुनेछ ।

कला तथा विशिष्ट पहिचान प्रदान गर्ने क्षेत्रको सम्मानका लागि आयोजना हुने रेड कार्पेटमा नेपाली फिल्म इण्डष्ट्रीका पुराना, युवा पुस्ता र बालकलाकार, विधागत कला क्षेत्र, नेपालको आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उदाहरणीय योगदान गर्नुहुने विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुनेछ । 

महानगरपालिकाले नेपाली पुराना चलचित्रहरुको संरक्षण गर्ने उद्देश्यले फेस्टिभलमा सन् १९७० र ८० को दशकमा निर्माण भएका नेपाली कथानक चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’को विशेष प्रदर्शन गर्नेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका फिचर फिल्म, काल्पनिक कथामा आधारित चलचित्र, फिल्म र छोटा चलचित्रहरू (सर्ट फिल्म) प्रदर्शन गरिनेछन् । ‘इन्टरनेसनल प्यानोरामा’ अन्तर्गत सशक्त कथा, अद्वितीय आवाज र विशिष्ट सांस्कृतिक दृष्टिकोणको प्रतिनिधित्व गर्ने विश्वव्यापी, समकालीन र स्वतन्त्र चलचित्रहरूको विशेष प्रदर्शन हुनेछन् । 

‘नेपाल प्यानोरामा सट्र्स’मा स्थानीय नवप्रतिभाहरूले नेपालकै सन्दर्भमा  तयार पारिएका फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री समावेश गरिनेछन् । यसका लागि काठमाडौँ महानगरपालिकाले खुला आव्हान गरेको थियो । यसरी गरिएको आव्हानबाट ७५ वटा फिल्म प्राप्त भएकोमा १० वटा प्रदर्शनका लागि छानिएका छन् । यसरी छानिएका चलचित्रलाई महानगरपालिकाले हरेकलाई १ लाख रुपियाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । यस्तै खुला आव्हानबाट युवा लक्षित ५ मिनेट अवधिसम्मका सर्ट भिडियो च्यालेञ्जमा ३५ वटा भिडियो प्राप्त भएका थिए । यीमध्ये प्रदर्शनका लागि ११ वटा छानिएका छन् । यसरी छानिएकामध्ये निर्णायक मण्डलबाट पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः १ लाख ५० हजार रुपियाँ, १ लाख रुपियाँ र ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । 

‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत ४० वर्षसम्मका युवाहरुलाई ‘माइ कल्चर, माइ हेरिटेज (मेरो संस्कृति, मेरो सम्पदा)’ शीर्षकमा र नेपाल पानोरमा शीर्षकमा खुला वृत्तचित्र (डकुमेन्ट्री), कथात्मक (फिक्सन), एनिमेसन, प्रयोगात्मक विधामा ३० मिनेटसम्म अवधिका भिडियो सिर्जना गरेर पठाउन आव्हान गरिएको थियो । 

नेपाल पानोरामा सर्ट्समा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङ्को ‘अ लेटर इन वीन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा ः अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु ः अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका छन् ।

‘माई कल्चर, माई हेरिटेज’ (मेरो संस्कृति, मेरो सम्पदा) सर्ट भिडियो च्यालेन्जमा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृटिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द विगेस्ट फेस्टिभल अफ काठमाडौँ’ सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ् बुढाथोकीको ‘विहाइण्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका ः अ थ्रेड द्याद टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन् । 

‘काठमाडौँ फिल्म फेस्टिभल’ काठमाडौँका रचनात्मक उद्योगको पहिचान, विकास र प्रवर्धनका लागि सशक्त माध्यम हो । स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तराष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्नु तथा अन्तर्राष्ट्रिय कलाकारहरुलाई काठमाडौँका टोल, बस्ती र समुदायसम्म ल्याउनु फेस्टिभलको उद्देश्य हो । यसरी सञ्चालन गरिने क्रियाकलापबाट काठमाडौँको मौलिक पहिचान र गौरवको प्रवर्धन हुनु, चलचित्र उद्योगको विकास तथा पेशाकर्मीको सम्मानित जीवनयापनमा सहयोग गर्नु, चलचित्र क्षेत्रलाई प्राज्ञिक एवं प्राविधिक उद्योगका रुपमा विस्तार गर्नु र यस्ता क्रियाकलापहरुमा स्थानीयलाई सहभागी गराएर पर्यटन प्रवर्धन, स्थानीयताको विश्वव्यापी पहिचान र आयमा वृद्धि गराउनु अपेक्षित नतिजा हुन् । 

फेस्टिभल आयोजना गर्न फिल्म प्रदर्शन पार्टनरका रुपमा जय नेपाल सिनेमा घर, सवारी साधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि नेपालका लागि अमेरिकी दूताबास, अष्ट्रेलियन दूताबास, यूनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको छ । 

डिजिटल टिकेटिङ् पार्टनरका रुपमा हिमालय पेसँग सम्झौता भएको छ । दर्शकहरुका लागि फिल्म प्रदर्शन निःशुल्क हो । सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्छ । कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार संग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको छ । सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौँ म्याराथन), आतिथ्यताका लागि होटल एशोसिएनसन (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेरिङ एशोसिएसन)सँग, इभेन्ट म्यानेजमेन्टका लागि माब्रिक्स र आइएसएससँग सहकार्य भएको छ । 

 फेस्टिभलको इन्टरनेशनल पानोरमा अन्तर्गत जय नेपाल सिनेमा घरमा चलचित्र प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने चलचित्रहरुमा लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अष्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अष्ट्रेलियन – मंगोलियन चलचित्र ‘स्टेयर्स’, टम पाइजेट निर्देशत अमेरिकी चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोवर्ट पावेल’, मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ लगायत चलचित्र छन् । 

जाङहाङ जुन निर्देशित कोरियन चलचित्र ‘द किङस वार्डेन’, रीमा दास निर्देशित सिंगापुर–इन्डियन चलचित्र ‘नट अ हिरो’, सर्वानो सदत निर्देशित जर्मनी – अफगानिस्तानी चलचित्र ‘नो गुड मेन’, फ्रान्सिस फर्ड कोपोला निर्देशित अमेरिकन चलचित्र ‘गड फादर’ प्रदर्शन गरिनेछ । समापन अवसरमा प्रदर्शन गरिने ‘प्राइभेट प्रपर्टी’ नेपाली – अमेरिकी – फ्रान्स र अष्टे«लियन चलचित्र हो । 

यस्तै जापानको यामागाता (युनेस्को क्रियटिभ सिटी अफ फ्लिम) बाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटीज’ प्रदर्शन हुनेछ । 

काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो । यसलाई विकास र विस्तार गर्न महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योगको प्रवर्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेशाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ । 

यस अन्तर्गत विभिन्न सञ्चालन भएका कार्यक्रममध्ये ‘टोलटोलमा फ्लिम फेस्टिभल’ एउटा महत्वपूर्ण कार्यक्रम हो । घरमा बसिरहेका दर्शकलाई फ्लिम हेर्ने संस्कारको विकास गराउने र फेस्टिभल आयोजना गर्न स्थानीय समुदाय, क्लव तथा संघसंस्थाको क्षमता विकास गर्नु यसको मुख्य उद्देश्य थियो । गएको वर्ष सुन्धारा, बागबजार, लगनटोल, खुला मञ्च, बालाजु बाइपास, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, लगनटोल र मैतीदेवी मन्दिर खुला चौरमा प्रदर्शन आयोजना गरिएको थियो । 

रचनात्मक उद्योगका साझेदार, पेशाकर्मी तथा विज्ञहरुसँग सहकार्य गरेर फेस्टिभलमार्फत हामी चलचित्र क्षेत्रबाट रचनात्मक उद्योगको विकास र नवप्रवर्तनमा काम गर्दैछौँ । यसबाट स्थानीय अर्थतन्त्रको विकासमा नतिजा खोजिरहेका छौँ । विद्यार्थी, समुदाय र पेशाकर्मीलाई चलचित्रप्रति रुचि जगाउन, चलचित्र संवादमार्फत शिक्षा, सूचना र सन्देशका विषय जोड्न खोजिरहेका छौँ । 

अन्त्यमा, काठमाडौँ फ्लिम फेस्टिभल काठमाडौँ महानगरपालिकासँग चलचित्र क्षेत्रका कलाकार, सर्जक सहित सम्पूर्ण पेशाकर्मीको प्रतिष्ठा हो । यसलाई सिर्जनात्मक रुपमा सफल बनाउन सबै क्षेत्र र पक्षबाट रचनात्मक सहयोगको अपेक्षा गरेका छौँ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार