कामपा-२७ भोटाहिटी, असन र कमलाछि क्षेत्रमा स्ट्रीट फुड फेस्टिभल
१७ मंसिर
२०८२, बुधवार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २७ को भोटाहिटी, असन र कमलाछि क्षेत्रमा स्ट्रीट फुड फेस्टिभल आयोजना हुने भएको छ ।
यमरी पुन्ही तथा मतिना पारुका अवसरमा बुधबार र बिहिबार स्ट्रीट फुड फेस्टिभल आयोजना हुने भएको हो ।
"नेवाः समुदायमा प्रेम, आत्मीयता र साझेदारीलाई सम्मानपूर्वक मनाइने विशेष पारम्परिक पर्व हो यमरी पुन्ही । यसै पर्वको अवसरमा काठमाडौँ महानगरपालिका तथा वडा २७ को विशेष पहलमा स्ट्रीट फुड फेस्टिभल आयोजना गर्न लागिएको", काठमाडौँ महानगरपालिका वडा २७ का अध्यक्ष योगेश खड्गीले बताउनुभयो ।
उहाँले, "यस फेस्टीभलमा भोटाहिटी, असन र कमलाछी क्षेत्रका स्थानीय घरधुरी तथा महिला समूहद्वारा निर्मित परिकारसँगै नेवा लहना, न्यु रोड र नेपाल डेरी जस्ता प्रतिष्ठित संस्थाका परिकारहरू पनि उपलब्ध रहने वडाअध्यक्ष खड्गीले बताउनुभयो ।"
"यो महोत्सव स्थानीय बस्ती, संस्कृति र परम्परागत बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरू गरिएको र यसलाई हाल ट्रायलका रूपमा प्रबर्द्धन गर्न लागिको हो । यसलाई हाडिगाउँ र टोखाको जस्तै यहाँका विभिन्न स्वयंसेवी सामाजिक संस्थाहरूको सक्रिय सहयोगमा कार्यक्रम सफल बनाउन तयारी अघि बढाइएको छ ।"
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय घरधुरी र महिला समूहलाई सशक्त बनाउँदै परम्परागत व्यवसाय र खाद्य संस्कृति पुनर्जीवन गर्नु रहेको छ। निकट भविष्यमै हरेक दुई साताको शनिबार नियमित रूपमा यस्तो खाद्य महोत्सव सञ्चालन गर्ने योजनासहित पुराना बजार क्षेत्रको आकर्षण बढाउने दीर्घकालीन अभियान सुरू गरिएको वडाअध्यक्ष खड्गीले बताउनुभयो ।
अहिलेको सुरुवात भोटाहिटी, असन र कमिलाछी क्षेत्रबाट भए पनि, अन्य वडाहरूको पहलमा केलटोल, इन्द्रचोक, धर्मपथ, न्यु रोड हुँदै सम्पूर्ण पुराना बजार क्षेत्रमा समेत विस्तार गरिने लक्ष्य रहेको छ ।