बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ क्षेत्र–५ मा आफ्नो प्रभाव विस्तार गरेको गरेको छ । पूर्व सांसद तथा नेकपा (एमाले) की अग्रज नेतृ वसन्तीदेवी यादव आज बिहिबार रास्वपामा प्रवेश गरेकी छन् ।
उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरिन्। कार्यक्रममा यादवले देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै रास्वपा रोजेको बताइन् । “जनताले पारदर्शी र जवाफदेही नेतृत्व खोजिरहेका छन्,” उनले भनिन् ।
उक्त कार्यक्रममा जनमत पार्टी का केन्द्रीय सदस्य बुलबुल यादवसहित २३८ जना नेता–कार्यकर्ताले पनि रास्वपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका र सदस्यता प्रदान गरेका थिए ।
रास्वपा मोरङ–५ का नेताहरूले पछिल्लो प्रवेशले स्थानीय राजनीतिक समीकरणमा परिवर्तनको संकेत दिएको दाबी गरेका छन् । उनीहरूका अनुसार विभिन्न दलबाट भइरहेको समर्थन र सहभागिताले आगामी निर्वाचनमा पार्टीको सम्भावना थप बलियो बनेको छ ।