काठमाडाँ । अचेल एकपछि अर्को नेपाली फिल्महरु प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा छनोट हुने खबरको शिलशिला चलिरहेको छ । यही शिलशिलामा सर्ट फिल्म 'साक्षी रुख' (द विटनेस ट्री) पनि संसारका दुई महत्वपूर्ण फिल्म महोत्सवमा छनोटमा परेको खबर थपिएको छ ।
निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको यो छोटो सिनेमा नेदरल्यान्डको 'इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम' र फ्रान्सको 'क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल'मा छनोट भएको हो । नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको साक्षी रुख दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो ।
फिल्मका निर्मातामध्येका एक नवनिधि दहालले भने, 'कोभिडका कारण भएको लकडाउनको अप्ठ्यारो बेलामा समयको सदुपयोग गर्ने सोचले संयुक्त राज्य एमिरेट्सको शारजहाँ आर्ट फन्डका लागि फिल्म पठाउने सोचले साक्षी रुख जन्मिएको हो । शारजहाँ आर्ट फन्डबाट ३५ लाख नेपाली रुपियाँ बराबरको आर्थिक सहयोग पाइने सम्भावनाले हामीले त्यसमा फिल्मको कथा पठायौं ।
त्यसपछि जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सव अन्तर्गतको सर्ट फर्म स्टेशनमा छानिएपछि उत्साह थपियो ।' इन्टरनेसनल फिल्म फेस्टिभल रोटर्ड्याम र क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत साक्षी रुख छानिएपछि त्यो उत्साह अझै धेरै थपिएको उनी बताउँछन् ।
उनले भने, 'मेरो जानकारी अनुसार क्लेर्मोन्ट फेर्रान्डमा कुनै पनि नेपाली फिल्म प्रतिस्पर्धामा छनोट भएको यो नै पहिलो पटक हो । छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ ।' करिब १५ मिनेटको सर्ट फिल्म फेस्टिभल लक्षित भएकोले तीन वर्षसम्म अन्य सिनेमा महोत्सवहरूमा पठाउने लक्ष्य राखिएको र त्यसपछि युट्युब मार्फत सार्वजनिक गरिने उनले बताए ।