काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले संस्थाको वर्तमान कार्यसमिति भंग गर्न माग गर्दै कांग्रेस नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । दुजाङ शेर्पा नेतृत्वको कार्यसमितिले एकलौटी ढंगले सिनेट बैठक बोलाएर संस्था र पार्टी म्याण्डेड बिपरित कार्य गरेको भन्दै असन्तुष्ट पक्षले संस्थाको वर्तमान कार्यसमिति भंग गर्न माग गरेका हुन् ।
पार्टी महामन्त्री गुरुराज घिमिरेलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नेतृत्वले गलत कार्य गरेकाले वर्तमान कार्यसमितिलाई भंग गरि आवश्यक निर्णय गर्न माग गरिएको छ ।नेविसंघका विद्यार्थी नेता आदित्य कुमार दासले त्रिविमा बसेको सिनेट बैठकबाट गरेको निर्णयका कारण संस्था र पार्टीलाई प्रभाव परेकाले तत्काल आवश्यक कदम चाल्न ध्यानाकर्षण गराइएको बताए ।
उनले अधिवेशन गराउने म्यान्डेट पुरा नगर्ने र पार्टीको नीति बिपरित चल्न खोज्ने कार्यलाई कसैलाई हित नगर्ने उल्लेख गरे । नेविसंघको नेतृत्व गलत बाटोमा हिड्न खोजेकाले पार्टीले आवश्यक निर्णय लिनुपर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै महामन्त्री घिमिरेले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई बलियो बनाउने दायित्व पार्टीको भएकाले यसबिषयमा बाहिर आएका बिषयमा पार्टीले आवश्यक निर्णय गर्ने बताए । यसअघि नेविसंघको सिनेटले स्वात्तताका लागि भन्दै दलको भ्रातृ संगठनबाट बाहिर निस्कने निर्णय गरेको थियो ।