काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण आगामी २९ मेदेखि २ जूनसम्म (जेठ १६ देखि २० जेठ) प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाको सह–आयोजनामा हुने किम्फ २०२४ मा 'इकोज अफ चेन्ज' अर्थात् 'परिवर्तनको प्रतिध्वनि' को नारा अन्तर्गत विविधताले भरिएका २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।
किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तगर्त वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन्। यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रस्तुत हुनेछन् जसले समकालीन नेपालको कथा उजागर गर्नेछ ।
महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको 'द टाइगर्स नेस्ट'को एसिया प्रिमियरबाट सुरु हुनेछ । नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ ।
महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमहरूको लाइन-अप मार्फत दर्शकहरूलाई मनोरञ्जन सँगसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवादमा संलग्न गराउने छ।
किम्फ २०२४ को एउटा मुख्य आकर्षण 'एभरेष्ट रिभिजिटेड 1924-2024’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी हुनेछ।
यसैगरी नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछ ।
किम्फ २०२४ को निर्णायकमण्डलमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) रहेका छन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येवाट विजेता छनौट गर्नेछ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी दर्शक पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।
किम्फले चलचित्र निर्माता, चलचित्र प्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तर्क्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गर्नेछ।
महोत्सवमा 'माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज' शीर्षकको अन्तर्क्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँग को सहकार्यमा 'वुमेन बिहाइन्ड द क्यामेरा' शीर्षकको प्यानल छलफलको आयोजना हुनेछन् । 'च्याम्पियनिङ योङ फिल्ममेकर्स'– ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तर्क्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट.कथा पिच हुनेछन्। स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) को सहयोगमा नेपाली आख्यान र गैरआख्यान परियोजनाका लागि एडिट ल्याब रहनेछ।