काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेपाली कांग्रेसभित्र एकता र पुनर्जागरणतर्फ सकारात्मक वातावरण बनेको छ। पार्टी नेतृत्वले यो निर्णयलाई जित–हारको रूपमा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका रूपमा व्याख्या गरेको छ।
पार्टी सभापति गगन थापाले सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई देशभित्र वा विदेश जहाँ भए पनि आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै पार्टी एकता मजबुत बनाउन आह्वान गरेका छन्। उनले पार्टीको वर्तमान अवस्थालाई सुधार्दै नयाँ ऊर्जा भर्ने जिम्मेवारी आफूले नेतृत्वदायी रूपमा वहन गर्ने स्पष्ट पारे।
सभापतिले अबको मुख्य लक्ष्य पार्टीलाई एकीकृत गर्दै संगठनलाई पुनः सुदृढ बनाउनु रहेको उल्लेख गरे। “यो समय आरोप–प्रत्यारोपमा होइन, सहकार्य र विश्वास निर्माणमा केन्द्रित हुनुपर्ने बेला हो,” उनले भने।
यसैबीच, पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जनाउँदै नेतृत्वले यसलाई पार्टी रूपान्तरणको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेको छ। महाधिवेशनमार्फत नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्दै अग्रजहरूको योगदानलाई सम्मान गर्ने र समुन्नत नेपालको लक्ष्यमा योगदान दिने स्पष्ट संकेत गरिएको छ।
पार्टीभित्र देखिएका विगतका मतभेदहरू अन्त्य गर्दै सबै पक्ष एक ढिक्का भएर अघि बढेमा नेपाली कांग्रेस पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास नेतृत्वले व्यक्त गरेको छ।