राजविराज । राजविराज नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका हजारौं परिवारले आफूहरूले भोगचलन गर्दै आएको बितोरी जग्गाको स्वामित्व सुनिश्चित गर्न जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।
आन्दोलनकारीहरूले राजविराज नगर स्थापना भएदेखि नै बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारको खोसिएको अधिकार फिर्ता गरी तत्काल जग्गाधनी प्रमाणपत्र प्रदान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार वर्षौंदेखि उक्त जग्गामा बसोबास गर्दै आए पनि हालसम्म स्वामित्वको आधिकारिक प्रमाणपत्र प्राप्त गर्न नसक्दा विभिन्न कानुनी तथा प्रशासनिक समस्या भोग्नुपरेको छ।
आन्दोलनस्थलमा राखिएको ब्यानरमा “अब कुनै बहाना स्वीकार्य छैन, हाम्रो एक सूत्रीय माग” उल्लेख गर्दै राजविराज नगर स्थापना कालदेखि बसोबास गर्दै आएका परिवारको अधिकार फिर्ता गरी तत्काल जग्गाधनी प्रमाणपत्र प्रदान गर्न माग गरिएको छ।
स्थानीय नगरवासीहरूको अगुवाइमा भइरहेको आन्दोलनमा प्रभावित परिवारहरू, स्थानीय नागरिक तथा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको ऐक्यबद्धता बढ्दै गएको छ। आन्दोलनकारीहरूले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू सम्बोधन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।
स्थानीयवासीहरूले राज्यबाट पटक–पटक आश्वासन प्राप्त भए पनि समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गर्दै न्यायोचित मागको शीघ्र सम्बोधन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।