आजको दिन नेपाली पत्रकारिताको इतिहासमा एउटा अटुट स्मृति हो । सन् १९०१ (वि.सं. १९५८ वैशाख २४) गोरखापत्र प्रकाशन भएर सुरु भएको थियो, जसले नेपालमा आधुनिक पत्रकारिताको जग हाल्यो । त्यही दिन आज दक्षखबर डटकमले पनि आफ्नो चौँथो वार्षिकोत्सव मनाउँदै छ । आजै ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ ।
हाम्रो यात्रा छोटो होला, तर हामी उभिएको आधार त्यही परम्परा र उत्तरदायित्वको शिलामा टेकेर अघि बढिरहेको छ, जुन गोरखापत्रले एक शताब्दीभन्दा बढी पहिले सुरु गर्यो । गोरखापत्रको त्यो ऐतिहासिक आरम्भ कुनै पत्रिकाको मात्र सुरुआत थिएन, त्यो नेपालको सञ्चार क्रान्तिको पहिलो विधिवत् दस्तखत पनि थियो ।
त्यही दस्तखतको प्रतिध्वनि हो, आज हामीजस्ता नयाँ पुस्ताका मिडिया माध्यमहरू जुन डिजिटल युगसँगै अघि बढिरहेका छौं । तर मूल्य र मर्यादाका तहहरूमा ती पुराना र गहिरा विरासतहरूसँग आत्मीयतापूर्वक जोडिएका छौं । हाम्रा पाठक, शुभेच्छुक र सहकर्मीहरूको सामूहिक विश्वास र साथबिना यो सम्भव हुने थिएन ।
दक्षखबर डटकमले चार वर्षको यात्रामा सूचना, समाचार र विचारमा सत्यापन, गम्भीरता, गतिशीलता र निर्भीकताको सम्मिश्रण प्रस्तुत गर्दै आएको छ । हामीले मिडियालार्ई समाचार पठाउने माध्यम मात्र होइन, चेतनाको सम्प्रेषणीय सेतु समेत ठानेका छौं । यो समाजको दर्पण हो, चेतनाको संवाहक हो, र लोकतन्त्रको मेरुदण्ड हो । त्यसैले मिडियाको जिम्मेवारी केवल सूचना प्रवाहमा सीमित छैन । जनताको प्रश्नलाई उजागर गर्ने, सत्तालाई निगरानीमा राख्ने र समाजलाई सन्तुलित दृष्टिकोण दिने गम्भीर जिम्मेवारी यसको काँधमा छ ।
तर दुर्भाग्यवश, पछिल्लो समय नेपाली मिडिया स्वयं नै एक गहिरो संकटको दलदलमा फसेको छ । जहाँ एकातर्फ सूचना प्रवाहको गति तीव्र छ, तर अर्कोतर्फ यसको विश्वसनीयता, स्वतन्त्रता र आर्थिक आधार गम्भीर संकटमा परिरहेको छ । पछिल्ला वर्षहरूमा सूचना प्रविधिको बाढीले नेपाली मिडियालाई डिजिटल प्रतिस्पर्धाको भुइँचालोमा मात्रै धकेलेको छैन, अनेक तहका चुनौतीहरू पनि लिएर आएको छ ।
सैद्धान्तिक रूपमा प्रेस स्वतन्त्रता कायम रहे पनि व्यवहारमा मिडिया घेरा झन् साँघुरिँदो छ । आलोचना गर्ने मिडियालाई सरकार, सत्ताधारी दल, वा विभिन्न सशक्त समूहहरूबाट प्रत्यक्ष–अप्रत्यक्ष दबाब सहनुपरेको छ । कहिले आर्थिक बहिष्कार, कहिले कानुनी जटिलता त कहिले सामाजिक आक्रमणमार्फत मिडियाको आवाज र सामर्थ्य दमन गर्ने क्रम तीव्र भएको छ ।
कोरोनापछि सुरु भएको आर्थिक संकुचन अझै उकासिएको छैन । परम्परागत विज्ञापनको आय घट्दै गएको छ, जबकि डिजिटल प्लेटफर्ममा विज्ञापन वितरण विदेशी कम्पनीहरूले नियन्त्रण गरेका छन् । घरेलु मिडियाका लागि दीगो आयको स्रोत सुनिश्चित गर्नु चुनौतीपूर्ण हुँदै गएको छ । यसले श्रमिक अधिकारमाथि पनि गम्भीर असर पारेको छ । पत्रकारहरू अल्पवेतन, बेरोजगारी वा दोहोरो–तेहेरो कामको चपेटामा परेका छन् ।
सामाजिक सञ्जाल र अनियन्त्रित डिजिटल प्लेटफर्महरूको बाढीले समाचार र अफवाहबीचको सीमाना झन् धमिलो बनाइदिएको छ । स्रोतको प्रमाणीकरणबिनै फैलाइने सामग्रीले जनताको विश्वास मिडियातर्फ घटाउँदै लगेको छ । यस्तो अवस्थामा गम्भीर पत्रकारितालाई पनि ‘सेन्सेसनलिज्म’ (सनसनी) को आरोप सहनुपरेको छ ।
मुद्रणबाट डिजिटलमा रूपान्तरण हुनु आवश्यक र अवश्यम्भावी भए पनि यो रुपान्तरण सहज छैन । प्रविधिमा लगानी गर्न नसक्ने, नयाँ पुस्तालाई आकर्षित गर्न गाह्रो हुने, सामग्रीको मौलिकता जोगाउन कठिन हुने जस्ता समस्याहरूले परम्परागत मिडियालाई खुम्च्याइरहेको छ ।
समग्रमा नेपाली मिडिया अहिले आफ्नो अस्तित्वको रक्षार्थ बहुआयामिक संघर्ष गरिरहेको छ । जहाँ स्वतन्त्रताको सवाल छ, विश्वासको सवाल छ र आर्थिक आत्मनिर्भरता खोज्ने चुनौती छ । यस्तो परिस्थितिमा आवश्यकता छ—नीति निर्माण तहबाट मिडियामैत्री वातावरण सुनिश्चित गर्ने, विज्ञापन बजारलाई मर्यादित र पारदर्शी बनाउने, र स्वयं मिडियाले पनि आन्तरिक शुद्धता र नवीनता अँगाल्ने सक्नुपर्दछ । किनभने मिडिया कमजोर भयो भने लोकतन्त्रको मेरुदण्ड नै कमजोर हुन्छ । अनि लोकतन्त्र कमजोर भयो भने, हामी सबैको आवाज हराउनेछ ।
यो वार्षिकोत्सव हामीलाई केवल हर्षित बनाउने क्षण होइन, भविष्यतर्फ गहिरो दृष्टि फ्याँक्ने समय पनि हो । हामी अहिले तीव्र गतिमा परिवर्तन भइरहेका सन्दर्भहरूको माझमा छौं । जहाँ सत्यको खोज, सूचनाको व्याख्या र जनआवाजको अभिव्यक्ति निरन्तर चुनौतीको विषय बनेको छ । यिनै चुनौतीबीच हामी निरन्तर व्यावसायिकता, सत्यनिष्ठा र नवप्रवर्तनमा अडिग रहने संकल्प दोहोर्याउँछौं ।
दक्ष खबर डटकमले चार वर्षमा पत्रकारिताको अनेकौं तह अनुभव गरेको छ । प्रश्नहरूलाई उठाउने साहस, सत्यतर्फ उभिने अठोट, र डिजिटल प्रतिस्पर्धाभित्र टिकिरहने जिजीविषा । तर यो केवल हाम्रो यात्रा होइन । यो सम्पूर्ण नेपाली मिडियाको साझा यात्रा हो । जहाँ चुनौतीको भुमरीभित्र पनि प्रतिबद्धता र जिम्मेवारीको दियो बलिरहेछ । आज हामी पत्रकारिताको परम्परालाई आत्मसात् गर्दै नयाँ युगको गतिशीलता र जिम्मेवार मिडिया संस्कृति स्थापनाका लागि सङ्कल्प गर्दछौं । शब्दको शक्तिमाथि भरोसा राख्दै, सत्यको पक्षमा दृढ रहँदै आगामी वर्षहरूमा अझ परिश्रमी, प्रामाणिक र जनमुखी बन्ने वाचा गर्दछौं ।
- सम्पादक नारायणप्रसाद भण्डारी
सुभकामना!