१४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन सम्पन्न, ४७ औं सम्मेलन सिंगापुरमा हुने

दक्ष खबर 15672+ समाचार ( )
८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलन अन्र्तगत शुक्रवार भएको समापन सत्रमा इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्नु भएको हो ।

दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएतापनि बढ्दो जनसंख्या, शहरीकरण, जलवायु परिवर्तन लगायतका कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौति थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भएको भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने उल्लेख छ ।

जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्वन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदाहरू पनि घोषणापत्रमा समेटिएका छन् । शहरी पूर्वाधार सहित उर्जा, यातायात लगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदाहरू घोषणापत्रमा रहेका छन् । इफाप्का आबद्ध सदस्य राष्ट्रहरूबीच अझ बलियो साझेदारी कायम गरिनुपर्ने बुँदा पनि घोषणापत्रमा रहेको छ । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित मंसिर ५ बाट शुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो । प्रधानमन्त्री सहित मन्त्रीहरु समेत सहभागी सम्मेलनमा स्वदेश तथा विदेशका गरी ४ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए । 

उत्कृष्ट निर्माण कम्पनीहरूलाई अवार्ड 

इफाप्का सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई सम्मान गर्नु भएको छ । जस अन्र्तगत सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्शन प्रा।लिले गोल्ड अवार्ड जितेको छ । यसै विधामा सिल्भर अवार्ड जय विष्णु निर्माण सेवा प्रा।लिले हात पारेको छ । बिल्डिङ कन्स्ट्रक्शन विधामा समानान्तर निर्माण सेवा प्रा। लिले गोल्ड अवार्ड जितेको छ । सिल्भर अवार्ड न्यू टेक्निकल इन्फ्रा प्रा। लिले हात पारेको छ । 

पाँचौं तथा दशौं पटक सम्म इफाप्का सम्मेलनमा सहभागीहरू सम्मानित 

शुक्रवार नै आयोजित कार्यक्रममा दशौं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी हुनु भएका पूर्व इफाप्का अध्यक्ष गणेशलाल श्रेष्ठ र इफाप्काका महासचिव विरेन्द्रराज पाण्डेलाई इफाप्का अध्यक्ष रवि सिंहले सम्मान गर्नुभयो । 

पाँचौ पटकसम्म इफाप्का सम्मेलनमा सहभागी महासंघका मानार्थ सदस्य तथा पूर्व अध्यक्ष जीप छिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, कार्य समिति सदस्य उज्वल गौतम, इफाप्का बोर्ड मेम्बर सुशीलकुमार श्रेष्ठ सहित निर्माण व्यवसायीहरू बसन्तबहादुर चन्द, भीमबहादुर पाल, झकबहादुर गुरुङ, नवराज श्रेष्ठ र मुनेश्वर चौधरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । 

४७ औँ इफाप्का सम्मेलन सिंगापुरमा 

इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रवार आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गर्नु भएको छ । गत एक वर्षअघि देखि इफाप्का अध्यक्षको जिम्मेवारीमा रहनु भएका अध्यक्ष सिंहले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

सिंहको कार्यकालमा इफाप्का महासचिवको भूमिका विरेन्द्रराज पाण्डेले निर्वाह गर्नु भएको थियो । साथै नेपालका सुशीलकुमार श्रेष्ठ बोर्ड मेम्बरको भूमिकामा रहनु भएको थियो । अब सिंगापुरका लुलाई इफाप्का अध्यक्षको रुपमा निवर्तमान अध्यक्ष सिंहले सपथ गराएसँगै ४७ औं इफाप्का सन् २०२५ को अप्रिलमा सिंगापुमा हुने भएको छ । नेपालले यस अघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार