उजुरी दर्ता हुँदैमा मन्त्री नहुने हो भने मन्त्री र सांसद खाली हुन्छ : केपी शर्मा ओली
६ फाल्गुन २०८०, मङ्गलबार
उहाँले गृहमन्त्री लामिछाने सहकारीका सञ्चालक र सदस्य नरहेको जिकिर गर्दै भन्नुभयो, “नेपाली कांग्रेसतिर नलाग्दा उहाँको बदनाम गर्न खोज्ने, फसाउन खोज्ने काम गरिएको छ ।”
सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता गरिएको भनेर आक्षेप लगाउने हो भने नेपालमा मन्त्री र संसद् खाली रहने बताउनुभएको छ ।
धनगढीमा आज प्रेस चौतारीले गरेको सङ्क्षिप्त पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री ओलीले आरोप लाग्दैमा कोही दोषी नहुने जिकिर गर्नुभयो । प्रमुख विपक्षी नेपाली कांग्रेसबाट गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भइरहेका सन्दर्भमा ओलीले भन्नुभयो, “उजुरी दर्ता तपाईको नाममा पनि हुनसक्छ, उजुरी दर्ता हुँदैमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ ।”
उहाँले कांग्रेसले सत्ता पक्ष हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गरिरहेको आरोप लगाउनुभयो । एमालेका अध्यक्ष ओलीले प्रदेश सरकारका विषयमा छलफल भइरहेको बताउनुभयो ।