जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले आर्थिक वर्ष ०८२/०८३ मा अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र (सेफहाउस) सञ्चालनमा ल्याउने नीति लिएको छ ।
नगर सभाको १५औँ अधिवेशनले नगरपालिकालाई निशुल्क प्राप्त भएको जग्गामा भौतिक संरचना निर्माण गरी अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र सञ्चालनमा ल्याउने नीति लिएको नगरप्रमुख राजसिंह कठायतले बताए । उनले भने, यसबाट हिंसामा परेका विपन्न महिला बालबालिकाले सेवा लिने छन् ।
अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्रको भौतिक संरचना निर्माण गर्नका लागि उपप्रमुख रामदेवि खड्काले चन्दननाथ नगरपालिकालाई निशुल्क जग्गा उपलव्ध गराएकी हुन् ।
चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले कूल ६१ करोड ३२ लाख ९२ हजार बजेट नगर सभा तथा १५औँ अधिवेशनमा पेश गरेकी छन् । चन्दननाथ नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएपनि बजेट भने असार २८ गतेको बैठकबाट पारित हुने प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।