बंगलादेशी नयाँ वर्ष ‘पहेला बैशाख १४३३’ को अवसरमा दूतावासमा भव्य कार्यक्रम

दक्ष खबर 17388+ समाचार ( )
३ वैशाख २०८३, शुक्रबार

काठमाडौँ । काठमाडौँस्थित बंगलादेश दूतावासले बंगलादेशी नयाँ वर्ष  ‘पहेला बैशाख १४३३’ को अवसरमा शुक्रबार दूतावास परिसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा विभिन्न देशका राजदूत तथा नियोग प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, प्रख्यात नेपाली व्यवसायी, नेपालस्थित बंगलादेशी समुदाय तथा उनीहरूका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो। सार्कका महासचिव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। भारत, पाकिस्तान, म्यानमार, श्रीलंका लगायत क्षेत्रीय देशका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई क्षेत्रीय स्वरूप प्रदान गरेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै बंगलादेशका राजदूतले 'पहेला बैशाख'को ऐतिहासिक उत्पत्ति र सांस्कृतिक महत्वबारे प्रकाश पार्दै यस पर्वले बंगलादेशको विशिष्ट राष्ट्रिय पहिचान, परम्परा र संस्कृतिलाई समेटेको बताए। उनले यो पर्व धार्मिक, सामाजिक तथा भौगोलिक सीमाभन्दामाथि उठेर सम्पूर्ण समाजलाई एकतामा बाँध्ने माध्यमका रूपमा विकसित भएको उल्लेख गरे। साथै, ‘हलखाता’ परम्परासँग जोडिएको नयाँ सुरुवातको सन्देशले समाजमा परिवर्तन र रुपान्तरणको आह्वान गर्ने गरेको उनले बताए।


राजदूतले दक्षिण एशिया र दक्षिण–पूर्व एशियाका देशहरूबीच सांस्कृतिक एकता र सद्भाव अभिवृद्धिमा यस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ६औँ देखि १२औँ शताब्दीसम्मका बौद्ध भिक्षुहरूले रचना गरेका ‘चर्यापद’लाई साझा सांस्कृतिक सम्पदाका रूपमा स्मरण गरे। उनले नेपाल र बंगलादेशबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धले पर्यटन र सांस्कृतिक आदान–प्रदानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख अतिथिले बंगलादेशको समृद्ध सांस्कृतिक परम्पराको प्रशंसा गर्दै दक्षिण एशियाली देशहरूबीच सांस्कृतिक आदान–प्रदानले आपसी सम्बन्ध अझ सुदृढ बनाउन मद्दत गर्ने बताए। उनले विविधताबीचको एकता र सद्भावको प्रतीकका रूपमा यस पर्वको महत्त्व औँल्याए।


कार्यक्रमले बंगलादेशको ‘पहेला बैशाख’ र नेपालको ‘नयाँ वर्ष’ दुवै मध्य–अप्रिलमा पर्ने सौर्य पात्रोसँग सम्बन्धित परम्परालाई उजागर गर्दै दुई देशबीचको साझा सांस्कृतिक सम्बन्ध र सभ्यतागत निकटतालाई थप सुदृढ बनाएको सन्देश दिएको छ। कार्यक्रम परम्परागत बंगलादेशी भोजनसहितको रात्रिभोजसँगै सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार