पोखरा । पोखरामा प्रथम साहित्यिक महोत्सव सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय साहित्य समाजले महोत्सव सम्पन्न गरेको हो । वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विभिन्न सत्र चरणबद्ध सन्चालन भएको थियो ।
महोत्सवको पूर्वसन्धयामा कविता प्रतियोगिता आयोजना गरिएको थियो । जसमा उत्कृष्ट ३ जनालाई वाचनको अवसर प्रदान गरिनुका साथै, नगद पुरस्कार वितरण गरिएको थियो ।
उद्धघाटनको पहिलो सत्रमा विश्वविद्यालयकै विद्यार्थीहरूको नृत्य, गायन एवम् साहित्यिक प्रस्तुति रहेको थियो । ‘जीवन र साहित्य’ नामक प्यानल छलफलमा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठसँग दोस्रो सत्र सम्पन्न भएको थियो ।
तेस्रो सत्रमा गजलकार प्रदिप रोदनको प्रस्तुति रहेको थियो । त्यस्तै, ‘१० स्रष्टा , एक आँगन’ सत्र समेत सञ्चालन गरिएको थियो । सो सत्रमा कवि , गजलकार तथा मुक्तककार गरी पोखराका १० साहित्यिक व्यक्तित्वहरूको प्रस्तुति रहेको थियो ।
'एक दिने महोत्सव भव्यताका साथ सम्पन्न भएको' महोत्सवका सभापति निकेश गिरीले बताउनुभयो । पोखरा विश्वविद्यालयको प्राङ्गणमा सम्पन्न भएको प्रथम साहित्यिक महोत्सव २०८१ पोख्रेली साहित्यिक जगतमै ऐतिहासिक बनेको दर्शकहरुको भनाई रहेको छ । महोत्सवमा निकेश गिरीको अध्यक्षता तथा रोशन तिमिल्सिनाको संयोजकत्व रहेको थियो ।