गलकोट । सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि प-यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताउनुभयो । चमुवा फाँटमा अहिले पाँच हलगोरु रोपाइँमा प्रयोग भइरहेका छन् ।
बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ । थ्रेसर मेसिन र ट्र्याक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्र्याक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ ।