काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र ४ बाट पराजित नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले पार्टीको पछिल्लो चुनावी परिणामलाई पछिल्लो केही महिनाको गतिविधिभन्दा पनि विगत दशकभरि बनेको परिस्थितिसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
तिमल्सेनाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस धेरै ठाउँमा विगतमा कमजोर बनेको स्वीकार गरेका छन्। उनका अनुसार पार्टीले भोगेको चुनावी परिणामको मुख्य कारण पछिल्ला केही दिनका घटनाभन्दा पनि पहिले देखिका राजनीतिक गतिविधि र नेतृत्वको कार्यशैली रहेको संकेत गरेका छन्।
उनले विशेष अधिवेशनले भने पार्टीलाई जनतामाझ नयाँ ढंगले प्रस्तुत हुने अवसर दिएको उल्लेख गरेका छन्। घरदैलो अभियानका क्रममा मतदाताले उठाएका धेरै प्रश्नहरू वर्तमान नेतृत्वभन्दा पनि अघिल्लो नेतृत्वप्रति लक्षित भएको उनको भनाइ छ।
तिमल्सेनाका अनुसार छोटो समयमा पार्टीको छवि सुधार्ने प्रयास गरिएको भए पनि दशकौंको कमजोरीलाई डेढ महिनामा परिवर्तन गर्न सम्भव नभएको उनले बताएका छन्। साथै, विशेष अधिवेशनको निर्णयलाई उनले राजनीतिक जोखिम भए पनि आवश्यक कदमको रूपमा उल्लेख गरेका छन्।
उनले पार्टी सभापतिको निर्णयप्रति समर्थन व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीलाई सुदृढ बनाउन आफूहरू साथमा रहने बताएका छन्। “हामी पार्टीको नेतृत्वसँगै उभिएका छौँ र आगामी दिनमा पनि रहनेछौँ,” उनले भने। तिमल्सेनाले अन्त्यमा “जय नेपाल” भन्दै पार्टीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।