काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडाैँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको बताउनुभएको छ ।
मंगलबार काठमाडाैँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै, अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताउनुभयो ।
“आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ ।” गृहमन्त्री लेखकले,“सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ ।” उहाँले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने लेखक बताउनुभयाे ।
विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं ।” लेखकले,“ जुनसुकै बेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।”
उहाँले सातवटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाडाैँ बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उहाँले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताउनुभयो ।
“जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ ।” उहाँले,“ राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ ।” प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षेत्रसँग पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाई छ ।
“नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो।” उहाँले,“ देशभरका दुवै प्रहरी संगठनका प्रमुखहरुलाई तयार रहन निर्देशन दिइएको छ ।” नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्नो ठाउँबाट विपद जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाई छ ।