नयाँ शैलीमार्फत् आर्टमान्डूले घोषणा गर्यो फिल्म ‘ऊनको स्वीटर’

दक्ष खबर 15672+ समाचार ( )
३१ आषाढ २०८०, आइतबार


काठमाडौँ । पर्दामा चलिरहेका चित्रहरू कथा बोलिरहेका छन् । हरियो पहाड, मैदानमा चरिरहेका भेडा, बाटोमा भारीसंगै सुस्ताइरहेको बटुवा, स्वीटर बुन्दै कसैलाई पर्खिरहेकी युवती !  गतिशील र सजीव चित्रसंगै पृष्ठभूमिमा गुन्जिरहेका छन् गायक सुजन चापागाईं - 

'तिमी विना तिमी हुनु

नछोएरै हरदम छुनू

भेटिरहनु नपर्खेर

रुझाइरहनु नबर्सेर...'

गीत सकिनासाथ सुजन आफ्नो सांगीतिक टोलीसँगै स्टेज चढ्छन्। त्यसपछि संगीत गुन्जन्छ । अनि लाइभ प्रस्तुतिबाट सहभागीलाई यसरी मन्त्रमुग्ध पार्छन् -

'तिमी जस्तो न्यानो

तिमी जस्तो शितल

ऊनको स्वीटर'

आइतबार दिउँसो सुन्धरास्थित सिडिसी मलमा देखिएको दृश्य हो यो। यहाँ टाइटल गीत सार्वजनिक गर्दै सांगीतिक माहोलमार्फत् आर्टमान्डूले फिल्म 'ऊनको स्वीटर' (द उलन स्वीटर) को घोषणा गरेको थियो । चलचित्र क्षेत्रमा फिल्म घोषणाको यो नयाँ शैली अपनाएको थियो आर्टमान्डूले। नवीन शैलीबाट निम्तालुहरू निकै आकर्षित भए । 

कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले फिल्मको घोषणामा शीर्ष कलाकार र टिम पनि सार्वजनिक गर्यो । 

शीर्ष भूमिकामा विपिन र मिरुना

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ। ‘लालपूर्जा’पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो । फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्नेछन् । नवीनले आर्टमाण्डूमार्फत् ‘तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन् । 

आर्टमाण्डूबाटै अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो । ‘म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । घोषणा आज गर्न पाउँदा खुसी छु । ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,’ निर्देशक चौहानले भने ।

अभिनेता विपीनले यो फिल्म आफ्नो लागि विशेष हुने बताए । ‘नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ। यो फिल्ममा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु,’उनले भने ।

अभिनेत्री मिरुना आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । ‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु । झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भनिन्, ’जुन क्यारेक्टर मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजबम आएको थियो । गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु ।’

फिल्म घोषणा गर्नुअघि गायक सुजन चापागाईंले टाइटल गीतको लाइभ प्रस्तुति दिएका थिए । फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन् । कार्यक्रममा सुजनले भने, ‘हाम्रो सपनाको सुरुवात तपाईंहरूलाई अगाडि राखेर गर्दैछौँ । हाम्रो गन्तब्यमा हजुरहरूको साथ सधैं रहन्छ भन्नेमा आशा छ । एउटा सपना बोकेर हिँडेका छौँ । तपाईंहरूलाई माया लाग्ने, मनपर्ने बनाउने कोसिस गर्नेछौँ ।’

फिल्मका लागि टाइटल गीत हर्क साउदले लेखेका थिए । उनले गीत लेख्दाको अनुभव सुनाए, ‘हामीले गरेको हरेक काम तपाईंहरूले रुचाइदिनुभएको छ । ऊनको स्वीटरको टाइटल गीतको ५ लाइन लेख्न २० धार्नीको फलामको चिउरा कुटेर एउटा तरबार बनाएजस्तो गाह्रो भएको थियो ।’

फिल्ममा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन् । बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ । फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन् । फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् ।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् । ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् । फिल्म मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार