दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरण के भन्छ ?
१० श्रावण २०८१, बिहीबार
काठमाडाैँ । अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरु आइरहेका छन् । यता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताउनुभयो । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्ने कुरामा सत्यता नरहेको उहाँले स्पष्ट पार्नुभयो । “विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ”, सूचना अधिकारी भूलले भन्नुभयो, “विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।”
दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छदैँ समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको थियो । इञ्जिनियरले २० देखि २५ दिनको विमानको सम्पूर्ण पार्टसको मर्मत (सी–चेक) गर्नका लागि विमान लगिँदै थियो । सूचना अधिकारी भूलका अनुसार दुर्घटनाको प्राविधि होकी मानवीय कारण भनेर अध्ययन नगरी भिन्न सकिँदैन ।