काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।
उनले उक्त अवधिमा समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिन् ।
साथै लैङ्गिक समानता र उत्तरदायित्व सुनिश्चित गर्न राष्ट्रिय लैङ्गिक लेखापरीक्षण कार्यविधि–२०८२, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका परियोजनाको साधारण तथा परियोजना सम्झौता गर्ने कार्यलाई व्यवस्थित गर्न परियोजना सहजीकरण कार्यविधि, २०८२, आगामी आर्थिक वर्ष २०८३-८४ देखि तीनै तहका सरकारले तर्जुमा गर्ने बजेटमा बालबालिकाको लागि गरिने लगानीलाई ‘कोडिङ’ गरी बजेट निर्माण गर्न बालबालिका उत्तरदायी बजेट सङ्केत सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तथा महिला उद्यमी समुन्नति पुरस्कार कार्यविधि, २०८२ स्वीकृत गरिएको छ ।
यस अवधिमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति थप प्रभावकारी बनाउँदै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक न्यायका क्षेत्रमा आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षित, सम्मानजनक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न मन्त्रालयले आवश्यक नीति निर्माण, संस्थागत समन्वय तथा जनचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको मन्त्रालयको भनाइ छ ।
त्यसैगरी राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका १९ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । बालविवाह, दाइजो तथा तिलक प्रथा जस्ता कुरीतिहरूको अन्त्य तथा लैङ्गिक भूमिकामा रूपान्तरण ल्याउने उद्देश्यले सचेतनामूलक सामग्री निर्माण गरी नियमित प्रसारणसमेत गरिएको छ ।
जाजरकोटका एक गर्भवती महिलालाई सुरक्षित आवास तथा स्वास्थ्य सुविधा उपलब्ध गराइएको छ । साथै जेन–जी आन्दोलनमा घाइते तथा प्रभावितहरूसँग निरन्तर संवाद गर्दै आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।