महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी (तस्विरसहित)

दक्ष खबर 17388+ समाचार ( )
१२ माघ २०८१, सोमबार

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा - ८ का वडाअध्यक्ष आशामान संगत, पशुपति क्षेत्र विकासका कार्यकारी निर्देशक सुवास चन्द्र जोशी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो ।

पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुन: मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो ।

प्रभातफेरीपछि मन्दिर परिसरको निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनहरूलाई सहज दर्शनको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए । महाशिवरात्रीको पूर्व सन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थीहरूलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूल मन्दिर परिक्रमा गरेर मात्र फर्किनु भएको थियो ।

यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको । बुधबार (फागुन १४)गते परेको महाशिवरात्रीमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी । साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ ।

शिवरात्रि (फाल्गुण कृष्ण चतुर्दशी)मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार