काठमाडौँ । सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी सिफारिस गर्नुपर्नेमा सरोकारवालापक्षले जोड दिएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र एम्नेष्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा आज आयोजित ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता’ विषयक अन्तरक्रियामा मानवअधिकारकर्मी चरण प्रसाईँले पदाधिकारी निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सूर्य ढुङ्गेलले दुवै आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया निष्पक्ष ढङ्गले गर्नुपर्ने बताउनुभयो । “स्वतन्त्र, सक्षम र निष्पक्ष पदाधिकारी सिफारिस गर्न जरुरी छ । यसअघि पदाधिकारी सिफारिसमा चुकेको हो”, उहाँले भन्नुभयो, “नेतृत्वको मुख ताक्न लागियो भने यो प्रक्रिया र छनोटलाई निष्पक्ष बनाउन सक्दैनौँ ।” उहाँले पीडितलाई न्यायको पर्खाइ लामो भएको र सिफारिस समितिले राजनीतिक हस्तक्षेपबिना काम गर्न ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।
विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भइसकेको छ । तर सङ्क्रमणकालीन न्यायको प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस हुने चरणमा छ । सिफारिस समितिमा पदाधिकारीका लागि एक सय ५६ व्यक्तिको आवेदन परेको छ । सिफारिस समितिले स्वतन्त्र, सक्षम र निष्पक्ष व्यक्तिलाई सिफारिस गरेर सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्नेमा मानव अधिकारकर्मी, पीडित तथा पत्रकारको सुझाव थियो ।