गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास
१९ फाल्गुन २०७९, आइतबार
काठमाडौँ । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गर्नुभएको हो ।
नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि÷रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।
सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गर्नुभयो ।
साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर तीनपटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उहाँले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताउनुभयो ।
वडा - ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गर्नुभयो ।