‘संविधानले दिएर पनि प्रदेशमा प्रहरी समायोजन हुन सकेन’
२३ भाद्र २०८०, शनिबार
चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भएको बताउनुभएको हो । गठबन्धन सरकार बन्दै गर्दा छ महिनाभित्र प्रहरी समायोजन गर्ने कार्ययोजनामा उल्लेख भएको उल्लेख गर्दै उहाँले यसै महिनाभित्रमा समायोजन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपाल प्रहरीका कार्यगत गुनासा धेरै आएको भन्दै उहाँले आफ्नो कार्यशैली सुधार्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो कार्यशैली सुधार्नुहोस्, प्रहरीमा सेवा लिन आउने सेवाग्राहीले सन्तोषपूर्ण वातावरणमा फर्किने वातावरण सिर्जना हुन जरुरी छ ।”
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले भवन बनेसँगै ट्राफिक प्रहरीलाई काममा सहज हुने बताउनुभयो ।
सो अवसरमा बागमती प्रदेश प्रहरीका प्रहरी उपरीक्षक ईश्वर थापाले निर्माण प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेश सरकारको सहयोगमा रु तीन करोड ५३ लाख २२ हजार तीन सय तीनमा भवन निर्माण गरिएको बताउनुभयो ।
नवनिर्मित भवनमा कार्यालय, ब्यारेक, सोधपुछ कक्ष, भान्साघर, गोलघरसहित कम्पाउण्डवाल रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेको तीन बिघा आठ कट्टा जग्गामध्ये छ कट्टा जमिनमा दुई तले भवन निर्माण गरिएको हो । लामो समयदेखि भवनको अभावमा ट्राफिक कार्यालय भाडाको घरमा बस्दै आएको थियो ।