अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : केपी शर्मा ओली
१६ आषाढ २०८१, आइतबार
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको विकासका लागि जतिसक्दो चाँडो कृषिसँग सम्बन्धित नयाँ ऐन ल्याउन जरुरी रहेको बताउनुभयो । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले कृषि क्षेत्र राज्य संरक्षित र समाजवादउन्मुख उत्पादन प्रणाली हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको बताउनुभएको छ ।
पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आज यहाँ आयोजित ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण’ विषयक नीति संवाद कार्यक्रममा अध्यक्ष ओलीले यथास्थितिमा देश अगाडि जान नसक्ने भन्दै उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “यथास्थितिमा देश अगाडि जान सक्दैन । त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो, त्यसमा पनि कृषिको आधुनिकीरणमा जोड दिनुपर्छ, जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
कृषिमा आधारित उद्यमले निर्यातमूलक उद्योगको रुप लिन सक्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा आधुनिकीकरण गर्न नीतिगत पहल जरुरी रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कृषिको आधुनिकीकरणका लागि ठोस नीति निर्माण हुनुपर्छ । हामीसँग भएको जमिनको उपयोग गरी समाजलाई गरिबीबाट माथि उठाउने योजनासहित काम गर्नुपर्ने आवश्यकता छ, त्यसमा सरकारले ध्यान दिनुपर्छ ।”
उहाँले कृषि क्षेत्रबाटै नेपालमा असाधारण परिर्वतन ल्याउन सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि पाँच वर्षभित्रमा ठोस योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो उर्बर माटो बिग्रिँदै गएको छ, जसकारण उत्पादनमा ह्रास आउँदैछ । यो अवस्थामा सुधार गर्दै माटोका अवस्था थप बिग्रिन नदिन लाग्नुपर्नेछ । त्यसैले सरकार साना–साना विषयमा अड्किनेभन्दा पनि मुलुकको समग्र विकासका निम्ति गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष ओलीको भनाइ थियो ।