‘चिनियाँ मापदण्डको मासु निर्यात गर्न सरकार प्रतिबद्ध’ : कृषिमन्त्री रामनाथ अधिकारी
१ मंसिर
२०८१, सोमबार
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रागाँको मासुको गुणस्तर सुनिश्चित गरेपश्चात नेपाली उपभोक्ताले उपभोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीच सम्पन्न राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्नेसम्बन्धी समझदारीले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको बताउनुभयो ।
“नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत छौँ”, मन्त्री अधिकारीले भन्नुभयो, “यसका लागि पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन दृढ सङ्कल्पित छौँ ।”
पशुका रोगको नियन्त्रण गर्न जोनिङलगाय विधिको अवलम्बन गर्दै स्वस्थ पशुको उत्पादनसहित पशुजन्य उत्पादनको रुपमा रहेको दूध तथा मासुको गुणस्तर प्रमाणीकरण गर्न नेपाल सरकार आफ्नो स्रोतले भ्याएसम्म प्रयासरत रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल र चीनबीच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौताबाट नेपालमा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले न्यून लागतमा राँगाभैँसी उत्पादन हुनसक्ने क्षेत्र पहिचान गरेर उत्पादन थाल्ने सुझाव दिनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता कार्यान्वयनमा प्रवेश गरेकामा खुसी व्यक्त गर्नुभयो । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले मासुको अभाव हुन नदिन विभिन्न ३० वटा पालिकामा राँगाभैसी पालन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।