सप्तकोशीमा छठपर्व अहिलेसम्मकै व्यवस्थित र भव्य

दक्ष खबर 16456+ समाचार ( )
सुमन रायमाझी
३ मंसिर २०८०, आइतबार


सप्तरी । सप्तकोशीमा छठपर्व अहिलेसम्मकै व्यवस्थित र भव्यताका साथ समापन गरिएको छ । उदयपुर र सप्तरीको सिमाक्षेत्रमा रहेको सप्तरीको सप्तकोशी नगरपालिकामा उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको हो । सप्तरीको सप्तकोशी नगरपालिकाको वडा नं १ मा त्रियुगा नदी किनारामा स्थानीय सरकारको सहजीकरणमा छठका स्टल राखिएका थिए ।

यद्दपी स्थानीय सरकारले पर्याप्त पूर्वाधारको अझै व्यस्था गर्न नसकेको सप्तकोशी छठ पूजा सेवा समितिको गुनासो छ।  समितिका उपाध्यक्ष रोशन गुप्ताले बजेट बढाएर छठलाई थप भव्य बनाउन सकिने औँल्याउनुभयो । तर स्थानीय सरकारले भने माग अनुसारको सहयोग गरेको दाबी गरेको छ ।


वडाध्यक्ष रोहिणी पोखरेल भन्नुहुन्छ, “हामीले छठलाई भव्य र सभ्य बनाउन प्रयास गरेका छौँ। स्थानीयको माग अनुसार हामीले व्यस्थापन गरेका हौँ, यस महापर्वलाई विगतका वर्षहरुभन्दा उत्कृष्ट बनाउन सबैको उत्तिकै भूमिका छ। ” छठमा करिव १ सय स्टलहरु राखिएका थिए । विगतका वर्षहरुमा स्टलका लागि स्थानको चयनमा विवाद हुने भएकाले यसपटक गोलाप्रथाबाट छनौट गर्ने व्यवस्था समितिले मिलाएको छ। 

यस्तै समितिका अध्यक्ष भगवान रौनियारले यस पटक छठ महापर्वको व्यवस्थापनमा सहकार्यको नमूना प्रस्तुत गर्ने हरसम्भव प्रयास गरिएको बताउनुभयो । अध्यक्ष रौनियार भन्नुहुन्छ,“पर्व मनाउँदै गर्दा जति आनन्द भएको थियो पर्व समापन पश्चात साथीभाईको धन्यवादले अझ तृप्ती अनुभूति भएको छ।” यसैविच छठपर्वको तयारीमा युवा र स्थानीयको बढ्दो सहभागिता र उल्लासका कारण सुनमा सुगन्ध थपिएको स्थानीय अगुवा दिलिप शाह बताउनुहुन्छ । 


समितिले व्यवस्थापन कक्ष, भक्तजनको सहयोगका लागि हेल्प डेक्स र स्वास्थ्य उपचारका लागि छुट्टै हेल्थ डेक्स स्थापना गरेको थियो । घाट क्षेत्र यसपटक बेहुली झैँ सिँगारिएका थिए । आइतबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाईएको थियो भने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन भएको हो । घाटमा रात्रीकालिन वसाई सहज बनाउन, शान्ति व्यवस्था कायम गर्न र थप सुव्यवस्थि गर्न स्थानीय युवा स्वस्फुर्त रुपमा लागेका थिए । 

यस्तै समितिले सुव्यवस्था र शान्ति कायम राख्न ११ बँदे आचार संहिता तयार गरेको थियो । आचार संहितामा घाट स्थल र त्रियुगा बाँधमाथी दुई पाङग्रे र चार पाङग्रे सवारी निषेध गरिएको थियो । यस्तै घाट परिसरमा जुवा, तास, डाईस आदि खेल्न नपाईने व्यस्था गरेको छ । घाट परिसरमा मादक पदार्थ र माछामासु खाएर प्रवेश गर्नै नपाईने आचार संहिता बनाएको छ । अझ विगतको विकृति नियन्त्रण गर्न भन्दै घरबाट छुट्टै साउण्ड सिस्टम ल्याउन नपाईने र अस्लिल, भद्दा किसिमको गतिबिधि गर्न नपाईने लगायतका कडा नियम बनाएको छ। 

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार